सन्दीप र रोहित चम्किँदा नेपालको शानदार जीत


काठमाडौं – नेपालले पपुवा न्युगिनीविरुद्ध शानदार जित हात पारेको छ ।

ओमानमा भर्खरै सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनको विशाल अन्तरले पराजित गरेको छ।

२३४ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको पपुवान्युगिनीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ५.१ ओभरमा ११ रन दिँदै ६ विकेट लिएका थिए । पपुवान्युगिनीले १९.१ ओभरमा ८२ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालका लागि शुसन भारी, सोमपाल कामी र विक्रम सोबले १/१ विकेट लिएका थिए भने, १ खेलाडी रनआउट भएका थिए ।

नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै ४९.३ ओभरमा २३३ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालका लागि रोहित पौडेलले ८६ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाएका थिए । त्यस्तै करण केसीले २६ बलमा ४२ रनको विस्फोटक पारी खेलेका थिए ।

प्रतिक्रिया