सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवामा सिफारिस


काठमाडौं – नेपाली सेनाका उपरथी बालकृष्ण कार्कीलाई रथीमा बढुवाका लागि सिफारिस गरिएको छ। कामु प्रधानसेनापति प्रभुराम शर्माले बरियताका आधारमा कार्कीको नाम सिफारीस गरेका हुन्।

नेपाली सेनामा २४ भदौदेखि रिक्त हुने रथी पदका लागि कार्कीको नाम सिफारिस गरिएको सैनिक मुख्यालयले जनाएको छ। मुख्यालयले आइतबार उनीविरुद्ध केही उजुरबाजुर भए जानकारी गराउन सातदिने सूचना प्रकाशित गरेको छ।

सेनामा २४ बेसिकका कार्कीले चीनबाट नेशनल डिफेन्स कोर्स पूरा गरेका छन्। उनले सुदुरपश्चिम पृतना र सैनिक कमाण्ड तथा स्टाफ तालिम केन्द्रको सफलता पूर्वक नेतृत्व गरेका छन्। केही दिनअघि मात्र अमेरिकामा एउटा उच्च तहको तालिमबाट फर्किएका हुन्।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ मा अवकास पाउँदैछन्। उनकै रिक्त दरबन्दीमा कामु प्रधानसेनापति शर्माले कार्कीको बढुवा सिफारिस गरेका हुन्।

अब एकसाता पछि उनको नाममा अन्तिम निर्णय हुनेछ। बढुवा प्रतिस्पर्धामा उनीसँगै सरोजप्रताप राणा समेत रहेका छन्। उपरथी कार्कीपछि बरियताले असोज २६ मा ईश्वर हमालले अवकाश पाएपछि उनको बढुवा हुनेछ।

कामु सेनापति शर्माले बरियताका आधारमा उनको बढुवा सिफारीस गरेर सेनामा पद्धतीअनुसार आफूले काम गर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया