


पञ्जसिरमा तालिबान र विरोधी लडाकूबीच संघर्ष जारी, काे छ अघि ?

काबुल – अफगानिस्तानको पञ्जसिर घाँटीमा तालिबान र विरोधी लडाकूबीच भारी संघर्षको खबर सार्वजनिक भइरहेका छन् । तालिबानले आफूले केही क्षेत्र कब्जामा लिएको र नेशनल रेसिस्टेन्स फ्रन्टमाथि भारी क्षति पुर्याएको दाबी गरेको छ ।
यता, फ्रन्टले उपत्यकामा प्रवेश गर्ने सबै मार्गमाथि नियन्त्रण लिएको र तालिबानले करिब सय जना लडाकूको क्षति व्यवहोर्नु परेको बताएको छ । पञ्जसिर एक्लो प्रान्त हो जुन अहिलेसम्म इस्लामी समूहको कब्जामा आएको छैन र त्यहाँ हजारौं विरोधी लडाकू जम्मा भएको पनि बताइँदैछ ।
यो विरोधी समूहमा पूर्व उप–राष्ट्रपति अमरुल्लाह सालेह, अफगान सुरक्षा बलका पूर्व सदस्य र स्थानीय मिलिसिया समावेश छन् । यसको नेतृत्व त्यहाँको नेता अहमद मसूदले गरिरहेका छन् । मसूदका पिता अहमद शाह मसूदले सन् १९८० मा रुसबाट र सन् १९९० मा तालिबानबाट पञ्जसिरलाई बचाएका थिए ।
तालिबानले के भन्यो ?
रोयटर्स समाचार एजेन्सीका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले वार्ता असफल भएका कारण लडाकू पञ्जसिर उपत्यकामा प्रवेश गरेको बताए ।
बीबीसी फारसीले विरोधी दलका प्रवक्ता फहीम दस्तीलाई उद्धृत गर्दै दुबै पक्षको मत भिन्न भएकोले वार्ता असफल हुन गएको जानकारी दिएको छ । तालिबानसँग आफूहरु दुई मोर्चामा लडिरहेको र यतिबेला ३५० लडाकू मारिसकेको र थुप्रै पक्राउ गरिसकेको दस्तीले जानकारी दिए । यद्यपि, दुबै पक्षको दाबी पुष्टि गर्न निकै मुस्किल छ । एजेन्सी

