कलाकार निशा घिमिरेको निधन, भोलि अन्त्येष्टी


काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको उपचारका क्रममा निधन भएको हो।

बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ। उनको भोलि अर्थात बिहीबार मात्र पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनायो।

२७ जेठ २०७८ मा दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले उद्धार गरेको थियो।

उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन।

निशाको अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखेर उपचार भइरहेको थियो। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्।

पछिल्लो समय निशालाई खाना समेत पाइपबाट खुवाउने गरिएको थियो। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले पनि काम गर्न छाडेको थियो।

0000

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्।दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो। तर, उनको अवस्थामा सुधार हुन सकेन। त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन्। घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा तस्बिरहरु सार्वजनिक भएपछि नर्भिक अस्पतालले उद्दार गरेको हो।

प्रतिक्रिया