दुई राष्ट्रप्रमुखबीचको समझदारी कार्यान्वयनका लागि नेपाल भ्रमणः चिनियाँ रक्षामन्त्री


काठमाडौं – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल भ्रमण आएको बताएका छन् ।

आइतबार बिहान चीनबाट नेपाल आएका बेइले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी आजै साँझ सोही चिनियाँ विमानमार्फत् स्वदेश फर्कने जनाइएको छ ।

प्रतिक्रिया