

राशिद खानकाे अपिल: ‘अफगानीलाई मार्न बन्द गर’

काबुल – तालिबानले नियन्त्रणमा लिएयता अफगानिस्तानकाे अवस्था झन् बिग्रिँदै गएकाे छ । हिजाे बिहीवार राति काबुल विमानस्थलबाहिर भएकाे विस्फाेटमा १३ अमेरिकी सैनिकसहित कम्तीमा ९० जनाकाे ज्यान गइसकेकाे छ ।
विस्फाेटमा घाइते हुनेकाे सङ्ख्या एक सय ५० नाघेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेटले आत्मघाती आक्रमणकारीले ‘अमेरिकी सेनाका सहयोगी र अनुवादकहरू’ लाई निसाना बनाएको बताएको छ ।
सामाजिक सञ्जालमा राशिद खानले लेखेका छन्, ‘काबुलमा फेरि रगत बगिरहेकाे छ अफगानीलाई मार्न बन्द गर ।’ यसैबीच अफगानिस्तानका स्टार क्रिकेटर राशिद खानले सामाजिक सञ्जालमा एक मार्मिक अपिल गरेका छन् । उनले रक्तपात राेक्न माग गर्दै अफगान नागरिकलाई नमार्न अपिल गरेका छन् ।
बेलायतमा टी–२० खेलिरहेका राशिद खानका परिवार अहिले अफगानिस्तानमा छन् । अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको छ । तालिबानसँग सहमति गरेअनुसार अमेरिकाले उद्धार कार्य यही अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

