नवलपरासीमा बाढीबाट २ को मृत्यु, एक बेपत्ता


सुनवल – लगातारको वर्षापछि आएको बाढीमा परी पश्चिम नवलपरासीमा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बाढीबाट पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका—१८ बञ्जरियाका बाबुछोराको मृत्यु भएको हो । मृत्यु हुनेमा ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । त्यस्तै बाढीका कारण सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी छिन् ।

बञ्जरियास्थित घरमा बाढी पसेपछि प्यासीद्वय ज्यान बचाउन घरबाट बाहिर निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए । उनीहरूको शव घरभन्दा केही तल खेलमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

बाढीका कारण सदरमुकाम परासी बजारका अधिकांश घरका साथै सरकारी कार्यालयमा पनि पानी पसेको छ । साथै बाढीले जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको गणलगायत सबै डुबेको छ ।

परासीमा कम्तीमा ६ फिट बढी पानी जमेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया