प्रचण्डले माओवादीमा फेरि खोपेको दुई लाइन संघर्षका ‘प्यादा’हरू!


काठमाडौं– नेकपा माओवादी केन्द्रले संगठनका विभिन्न विभाग र जिम्मेवारीको तय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारी को होला भन्ने विषयको चर्चा पनि सतहमा आएको छ।

माओवादी केन्द्रले जिम्मेवारी प्रदान गर्ने क्रममा दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठलाई भित्तामा पुराइसकेको छ। उनलाई प्रवक्ताबाट हटाइयो र प्रवास समितिमा मात्र खुम्च्याइएको छ।

सभामुख समेत बनिसकेका कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। तर, बाहलवाला सभामुख हुँदा नै रोशनी शाही प्रकराणले महराको राजनीतिमा ठेस लागिसकेको छ। अझै पनि शाही प्रकरणको काउछोले उनलाई छाडेको छैन।

जिम्मेवारी बाँडफाँटका क्रममा प्रचण्डले दुई नेताहरू जनार्दन शर्मा र बर्षमान पुनलाई अगाडि सारेका छन्। शर्मालाई महासचिवले पाउने संगठन विभाग प्रमुख र बर्षमानलाई पनि महासचिव बराबरको केन्द्रीय कार्यालय इन्चार्जसहित विभागको जिम्मेवारी दिएका छन्।

अहिले पुनलाई केन्द्रीय कार्यालयको इञ्चार्ज दिए पनि संगठन विभागमा शर्मालाई प्रमुख बनाएका कारण प्रचण्डले स्पष्ट रुपमा माओवादीको उत्तराधिकारी कसलाई बनाउँछन् भन्ने अवस्था छैन।

माओवादीभित्र समानान्तर र विपरित दुई पक्षको नेतृत्व गर्ने रोल्पा र रुकुमका यी दुई नेतालाई प्रचण्डले सोही शैलीमा अगाडि बढाएका छन् जुनबेला उनी मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईलाई दुई विपरित लाइनको स्कुलिङमाथि खेल्दै अघि बढे।

तर, यो दशक मात्र सक्रिय राजनीति गर्छु भनेका प्रचण्डले यी दुई मध्ये कसलाई नेतृत्व हस्तान्तरण गर्लान्? भन्ने प्रश्न उठेको छ।

‘प्रचण्ड नेतृत्व हस्तान्तरण गर्ने नेतामा पर्दैनन्। अब केही समय माओवादीलाई चलाउनका लागि दुई लाइनको स्थापना गरिरहेका छन्। त्यसैमा खेलेर प्रचण्डले कहिले शर्मा त कहिले पुनलाई चलायमान बनाई नेतृत्वमा सर्वमान्य बनिरहनेछन्’, उच्च स्रोतले भन्यो,‘अहिले जति संगठन छ त्यसमा शर्मा र पुनको नै भूमिका प्रभावकारी देखिन्छ। त्यसैलाई प्रचण्डले उपयोग गर्न खोजिरहेका छन्।’

नेकपा हुँदा सरकारमा बर्षमान पुनलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका प्रचण्डले शेरबहादुर देउवा सरकारमा शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारीमा पठाएका छन्। प्रचण्डको यो रणनीतिले उनले दुवै नेतालाई समानान्तर रुपमा अघि बढाएको स्पष्ट देखिन्छ।

तर प्रचण्डको राजनीतिक रणनीतिलाई राम्रोसँग बुझेकाहरुले भने दुई लाइन संघर्षमा नेतृत्व गर्न माहिर रहेका प्रचण्डले शर्मा र पुनलाई दुई ‘प्यादा’का रुपमा स्थापित गरेको बताउँछन्।

प्रतिक्रिया