कांग्रेस जिल्ला सभापतिहरूको आजबाट पार्टी कार्यालयमा अनशन
काठमाडौँ – क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधनको माग गर्दै कांग्रेसका जिल्ला सभापतिहरू अनशन बस्ने भएका छन् । उनीहरू पार्टी मुख्यालय सानेपामा बुधबार ११ बजेबाट २४ घण्टे रिले अनशन बस्ने भएका हुन् ।
पहिलो दिनको अनशनमा सभापतिहरू नुवाकोटका जगदीश्वरनरसिंह केसी, काभ्रेका मधु आचार्य र धादिङका रमेश धमला बस्दै छन् । उनीहरूले तीनबुँदे माग राखेका छन् ।
प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्नुपर्ने भन्दै जिल्ला सभापतिहरूले अविलम्ब सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने बताएका छन् । क्रियाशील सदस्यताको तहगत निर्णय गरिएको सूचीका त्रुटिमाथि पार्टीको विधान र मापदण्डबमोजिम छानबिन गरेर मात्र अन्तिम रूप दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
निर्वाचन प्रक्रियामा सबै जिल्लाका सभापतिको एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गरिनुपर्ने माग पनि जिल्ला सभापतिहरूले गरेका छन् ।