भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवाले बालुवाटार छिर्नुको कारण

प्रधानमन्त्री देउवाको सचिवालयले किन औपचारिक जानकारी दिएन?


काठमाडौं– राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आउनुपूर्व नै भारतीय सत्तारुढ पार्टीका विदेश विभाग प्रमुखसहितका नेता काठमाडौंमा सक्रिय रहेको खुलासा भएको छ। उनीहरूले सत्तागठबन्धनका नेतासहित प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवाले काठमाडौंमा रहेका बेला नै राजनीतिक दलसम्बन्धी अध्यादे जारी भयो र दुई दल नेकपा एमाले तथा जनता समाजवादी पार्टी विभाजनको प्रक्रियामा पुग्यो। यसबीच चौथाइवालेले प्रधानमन्त्री देउवालाई भेटेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।

‘नेपालमा राजनीतिक संक्रमण चलिरहेका बेला भारतीय सत्तारुढ पार्टीका नेता आउनु र राजनीतिक दलसम्बन्धी अध्यादेश जारी हुनु काग गराउनु र पिना हराउनु होइन, योजनाबद्ध हिसाबले उपयोग गरिएका छन्’, उच्च स्रोतले भन्यो,‘उनीहरू नेपालको राजनीतिक दलमा माइक्रो म्यानेजमेन्ट गर्न सक्रिय नै छन्।’

बालुवाटार छिरेका चौथाइवालेले प्रधानमन्त्री देउवालाई बधाई दिएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश दिएको उल्लेख गरेका छन्। तर, यस विषयमा नेपालको परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्रीको सचिवालय मौन रहनुलाई अर्थपूर्ण मानिएको छ।

भाजपा नेता र त्यसका पनि विदेश विभाग प्रमुखले अनौपचारिक रुपमा प्रधानमन्त्रीसँग गरेको भेट रहस्यमयी राजनीतिको कारण मानिन्छ। उच्च स्रोतले भन्यो,‘यस्ता भेटहरू किन हुन्छन्? किन पारदर्शी हिसाबले जनतासामु जानकारी दिइँदैन? यसबारे प्रधानमन्त्री बोल्नुपर्छ।’

नेपालमा राजनीतिक तनाव जारी रहेका बेला भारतीय अधिकारीको बालुवाटार प्रवेशले निकै चर्चा पाउने गरेको छ। तत्कालिन नेकपा विभाजनअघि प्रधानमन्त्री रहेका बेला केपी शर्मा ओलीसँग भारतीय गुप्तचर विभाग रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) प्रमुख सामन्त गोयल पनि अनौपचारिक रुपमा बालुवाटार छिराइएका थिए।

तिव्र आलोचना र प्रदर्शन भएपछि ओलीले उक्त भेटलाई भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा गोयलको प्रवेश भएको भन्दै ढाकछोप गर्न खोजेको थियो। चौथाइवाले तिनै हुन् जसले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग ट्वीटरमा निरन्तर कटाक्ष गर्छन्।

प्रतिक्रिया