बालकोटमा फाइनल वार्ताः आखिर दोस्रो तहका नेता एमाले छाड्न किन सकसमा छन्?


काठमाडौं– नेकपा एमाले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदाको अक्षरस कार्यान्वयनको माग राखी अल्टिमेटम दिएका एमालेका दोस्रो तहका नेता अध्यक्ष केपी शर्मा ओलीसँग फाइनल वार्ताका लागि सोमबार बालकोट पुगेका छन्।

एमालेभित्र माधवकुमार नेपाललाई संघर्षमा साथ दिएका तर पार्टी विभाजनको पक्षमा उभिएका उपाध्यक्ष भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, भिम आचार्य, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताले जारी गरेको अपिल बमोजिम ओलीलाई १० बुँदे कार्यान्वयनका लागि दबाब दिन बालकोट पुगेका हुन्।

‘यो फाइनल वार्ता हो। अध्यक्ष एकताका लागि १० बुँदे कार्यान्वयनमा तयार भएको खण्डमा हामी माधवकुमार नेपाललाई पनि पार्टी विभाजन रोक्नका लागि दबाब दिनेछौं’, ति मध्येका एक नेता भन्छन्,‘अहिले निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको छैन, हामी एकता होस् र सोहीअनुसार कार्यान्वयन हुनुपर्छ भन्ने मान्यतामा छौं।’

अध्यक्ष ओलीसँग आन्तरिक संघर्षमा रहे पनि दोस्रो तहका नेताले एमाले विभाजन अस्वीकार गरेका थिए। उनीहरूले नेता नेपालको निर्णयअनुसार गठन हुन लागेको नेकपा एकीकृत समाजवादीमा जान इच्छा देखाएका छैनन्।

‘पार्टी छाड्न सकस हुन्छ, हामीले निर्माण गरेको पार्टी कुनै दुई नेताको अडान र अहंकारका कारण कसरी त्याग गर्न सकिन्छ?’, एक स्थायी कमिटी सदस्य भन्छन्,‘एक्लौटीपना र विभाजन दुवैको खिलाफमा छौं।’

नजिकिएको चुनावलाई मध्यनजर गरी पार्टी निर्माण, संगठन चलायमान बनाउनुपर्नेमा विभाजनको बाटो राम्रो नभएको उनीहरुले एमाले छाडी नेता नेपालसँग नजानुको अर्को कारण संगठन र चुनाव चिन्ह समेत रहेको बताइन्छ। ‘सूर्य हाम्रो जीवनभरको राजनीतिक कमाई हो, स्थापित गरेका छौं। भविष्यमा पनि एमाले र सूर्यको उचाई छाड्नुपर्ने बेला भताभुङ्ग पार्न सकिन्न’, एक नेता भन्छन्।

प्रतिक्रिया