तालिबानको नियन्त्रणपछि कस्तो छ अफगानिस्तानको पछिल्लो अवस्था ?


एजेन्सी । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ।

उसले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ। त्यहाँ उनीहरूले कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको खबर आएको छ।

उनीहरूले कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको छ। काबुलस्थित बीबीसी संवाददाताका अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन्।

सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ। काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम छ।

तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानहरूलाई रोकिरहेका छन्।

उनीहरूले त्यसक्रममा हावामा गोली समेत चलाएको खबर छ। यात्राका लागि आवश्यक कागजात भएका कतिपयलाई पनि उनीहरूले रोकेको खबर छ।

कतिपय देशहरूले आफ्ना नागरिकका साथमा उनीहरूका सहकर्मीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा फिर्ता गरिरहेका बेला विमानस्थलमा अराजक अवस्था देखा परेको हो।

उक्त विमानस्थलबाट करिब ५,००० जनालाई विगत २४ घण्टामा उद्धार गरिएको छ। अहिले अमेरिकाले खटाएको विशेष फौजले उक्त विमानस्थल चलाइरहेको छ।

पश्चिमी देशका एकजना अधिकारीले रोयटर्स समाचार संस्थालाई भनेका छन्, ‘यो एकदमै अस्तव्यस्त र अराजक अवस्थामा छ।’

तालिबानले अमेरिकी राहदानी भएकाहरूलाई चाहिँ विमानस्थल पस्न दिएका छन्।

तालिबानले गत आइतवार कैयौँ पश्चिमा शक्ति राष्ट्रहरूलाई आश्चर्यचकित पार्नेगरी काबुलमा नियन्त्रण कायम गरेको थियो। अमेरिकी नेतृत्वको फौज अफगानिस्तानबाट फर्किएपछि उसले देशैभरि आफ्नो नियन्त्रण विस्तार गरेको थियो।

अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो

के हो तालिबान ?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए। साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

 

प्रतिक्रिया