देउवाले बल्ल हेरेछन् ‘श्रीपेच बिनाका राजकुमार’, महामन्त्री खड्का र महतबीच के भयो भनाभन?
काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूबारे बनाइएको भिडिओ बुधबार मात्र हेरेका छन्।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा उक्त भिडिओको प्रसङ्ग निस्किएपछि स्वकीय सचिव भानु देउवाको मोबाइलमा प्रधानमन्त्रीले भिडिओ हेरेको बताइएको छ।
भिडिओ हेरे पनि देउवा प्रतिक्रियाविहीन भए। बरु, उनलाई यो भिडिओबारे थाहै नभएको जानकारीचाहिँ गराए। उक्त भिडिओले प्रधानमन्त्री देउवाको कद नबढाई आलोचना हुने भन्दै सचिवालयलाई तुरुन्त बन्द गर्नका लागि महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्त विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए।
सोही सन्दर्भलाई लिएर बैठकका क्रममा सह–महामन्त्री प्रकाशशरण महतले यसरी आलोचना गरी प्रधानमन्त्रीको विरोध गरेजस्तो भएको भन्दै खड्का र शर्मामाथि आरोप लगाएका थिए।
महतको उक्त आरोपको प्रतिवाद गर्दै महामन्त्री खड्काले यसले कुनै सकारात्मक सन्देश नदिने बताएका थिए। सो क्रममा केहीबेर खड्का र महतबीच भनाभन भएको थियो।
‘प्रधानमन्त्रीले काम गरेपछि भिडिओ आउँछ, अहिले बनाउन के आवश्यक थियो? फेरि किन प्रचार गरेको? ओलीपथमा लैजान खोजेको हो?’, खड्काको प्रश्न थियो। महतले प्रतिवाद गर्दै ‘यो भिडिओमा के खराबी छ, सामाजिक सञ्जालमा विरोध गर्न आवश्यक थियो?’ भनी सोधेका थिए।
उक्त भिडिओमा प्रधानमन्त्री देउवा श्रीपेच बिनाको राजकुमार, देउवा मलाई मनपर्छ किनभने…भन्ने सन्देश राखिएको छ।