होटलको लिफ्टमा खेल्न आएको भन्दै बालकलाई निर्घात कुटपिट


धनुषा – होटलको लिफ्टमा खेल्न गएका बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ जनकपुरधाम उपमहानगरपालिका-५ स्थित अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षीय बालकलाई उनले निर्घात कुटपिट गरेको जानकारी पाए लगत्तै धनुषा प्रहरीले व्यवसायी गुप्तासहित तीन जनालाई पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका-५ बस्ने १३ वर्षीय बालक लिफ्टमा खोल्न गएका बेला होटेल सञ्चालक अमरनाथ गुप्ताका दुई कर्मचारीले लिफ्ट बन्द गरी मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयवासीको आरोप छ ।

बालकलाई लिफ्टमा बन्द गरी कुटपिट गरेको अवस्थामा स्थानीयले देखेपछि ती बालकलाई जोगाउँदै तत्कालै स्थानीय जानकी प्रहरी चौकीलाई जानकारी गराएका थिए । होटलका सञ्चालक अमरनाथ गुप्ताकै निर्देशनमा कुटपिट गरिएको बालकका बुवा सञ्जय ठाकुरलाई समेत ती कर्मचारीहरूले कुटपिट गरेका थिए ।

कुटपिट गर्ने गायत्री कुञ्ज अतिथि सदनका सञ्चालक अमरनाथ गुप्ता, होटेलका कर्मचारी रहेका महोत्तरीको मनरा सिस्वा नगरपालिका बस्ने ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय सुभाषकुमार साहलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते भएको बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

प्रतिक्रिया