

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं – निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ । उक्त दल खारेजपछि अब ९५ वटा दलको मात्र दर्ता कायम रहने भएको छ ।
आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए ।

