अख्तियारमा खाली ३ आयुक्तका लागि ३३ जनाको दौड: एक कांग्रेसको काखमा, दुई ओलीको हातमा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेका तीन आयुक्त पद नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ।

बालुवाटारमा देउवालाई बोलाएर प्रधानमन्त्री ओलीले रिक्त रहेका आयुक्त पदमा नियुक्तिका लागि सहमति गरेका हुन्। संवैधानिक परिषदको बैठक राखी केही दिनमा नै तीन जनाको नाम सिफारिस गरिनेछ। जसमा नेपाली कांग्रेसको एउटा कोटामा नाम चाँडो दिनका लागि ओलीले देउवालाई भनेका छन्।

तीन आयुक्त मध्ये प्रधानमन्त्री ओलीले पूर्वगृहसचिव प्रेमकुमार राईको नाम पठाउने निश्चित छ। अन्य एक जनाको विषयमा भने प्रधानमन्त्री परामर्शमा छन्।

एक आयुक्त खाली भएको ३ बर्ष भइसकेको छ । अर्का आयुक्तको पदरिक्त भएको २ बर्ष पूरा भइसकेको छ । प्रमुख आयुक्त नवीनकुमार घिमिरे २०७७  भदौ २८ मा कार्यकाल पूरा गरी बिदा भएपछि अख्तियारमा तीन आयुक्त पद खाली छन्।

राजनारायण पाठकले घुस लिएको भिडियो प्रकरण बाहिरिएपछि फागुन २०७५मा आयुक्त पदबाट उनले राजीनामा दिएका थिए।

डा. गणेशराज जोशी अहिले अख्तियारका निमित्त प्रमुख छन्। तीन महिनामा उनले पनिे ६ बर्षे कार्यकाल पूरा गरी विदा लिनेछन्। १७ चैत ०७७ मा उनी विदा हुनेछन्।

प्रधानमन्त्री ओलीले पूर्वगृहसचिव राईलाई आगामी प्रमुख आयुक्त हुनेगरी सिनियर आयुक्तका रुपमा नियुक्त गर्ने तयारी गरेका छन्। उनको कोटामा परेका एक जनाको भने नाम तय हुन बाँकी छ। धेरैले लविङ गरिरहेका छन्।

तीन पद ३३ दौडमा को–को छन्?

स्रोतका अनुसार पोखरा उच्च अदालतमा मुख्य न्यायाधीश किशोर सिलवालदेखि पूर्वसचिव मधु रेग्मीसम्म आयुक्तका लागि लविङमा छन्। यस्तै पूर्वआईजी उपेन्द्रकान्त अर्यालदेखि पूर्वएआईजी जयबहादुर चन्दसम्म पनि लविङमा लागेका विवरण आएका छन्।

पूर्वसचिव मोहनकृष्ण सापकोटा, राष्ट्रबैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक शिवनाथ पाण्डे, अख्तियारका पूर्व सहसचिव गणेश कार्की, पूर्वसचिव श्रीधर सापकोटा, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलीप रेग्मी पनि अख्तियार आयुक्तका लागि दौडमा छन्।

पूर्वआईजी सर्वेन्द्र खनाल, एआईजी सुरेन्द्रबहादुर शाह पनि यो दौडमा रहेको उच्च स्रोतले दाबी गरेको छ।

एक कोटा दर्जन अपेक्षा

कांग्रेस सभापति देउवाले पाएको एउटा कोटाका लागि दर्जन अपेक्षा रहेका छन्। कतिपयका दाबी अनुसार त्यो एक आयुक्त पदका निम्ति देउवाले पूर्वएआईजी चन्दलाई सिफारिस गर्न सक्नेछन्। आईजी बनाउन नसकेको गुणचाहिँ अख्तियार आयुक्त बनाएर तिर्ने योजनामा देउवा रहेका छन्।

तर चन्दलाई रोक्नकै लागि कांग्रेसका अन्य कतिपय नेता लागि परेका छन्। ‘चन्द विवादीत भएका कारण उनी आयुक्त पदमा जान उपयुक्त पात्र होइनन्, निर्विवाद मानिसलाई सिफारिस गर्नुपर्छ भन्ने हाम्रो सल्लाह छ’, देउवानिकट स्रोतले भन्यो।

कांग्रेसकै कोटामा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख रेग्मी, पूर्वसचिव सापकोटा, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे, पूर्वआईजी अर्याल पनि दौडमा छन्।

प्रतिक्रिया