

सिसिएमसी बैठकः कोभिड–१९ महामारी नियन्त्रणको रणनीति बनाइँदै

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा कोभिड महामारी नियन्त्रणका लागि कसरी संयन्त्रलाई चुस्त र प्रभावकारी ढङ्गले परिचालन गर्ने भन्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा महामारीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे छफफल भएको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रधानसेनापति, सिसिएमसीका प्रमुख बालानन्द शर्मा र विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो ।
नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । बढ्दो महामारी नियन्त्रण गरी जनजीवनलाई सामान्य तुल्याउने सन्दर्भमा बैठकमा छलफल भएको सिसिएमसीका एक अधिकारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एकै दिन तीन हजार ६११ जना सङ्क्रमित थपिएका छन् भने २७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

