

सडकका गाईवस्तुमा ‘रिफ्लेक्टिब स्टीकर’

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले छाडा गाईवस्तुमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टिब स्टीकर’ लगाउन थालेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाको विभिन्न सडकखण्डमा यत्रतत्र रहेका छाडा गाईवस्तुमा ‘रिफ्लेक्टिब स्टीकर’ लगाउन थालेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले छाडा गाईवस्तुहरुका कारण रातीको समयमा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले टल्किने स्टीकर लगाउन थालिएको बताए।
एसएसपी भट्टराईले भने, ‘‘उपत्यकामा रातको समयमा गाईवस्तुहरु दुर्घटनाको कारक बनेको गुनासाहरु, सुझाव आउन थालेपछि हामीले दुर्घटना हुन सक्ने सम्भावना र न्युनिकरणमा जोड दिँदैे उपत्यकामा यो अभियान सञ्चालनमा ल्याएका छौं।’
पशु चौपायबाट रातको समयमा हुन सक्ने दुर्घटना न्युनीकरण तथा रोकथाम अभियान अन्तर्गत कलंकी प्रभाग, काठमाडौंका बौद्व, चावाहिल, गौशलालगायतका पशुहरुको घाँटीमा स्टिकर टाँसिएको छ।
उपत्यकाका विभिन्न ट्राफिक प्रभागहरुमा सोमवारदेखि सुरु भएको अभियान आजसम्म ४९ वटा गाईवस्तुहरुमा टाढैबाट टल्कने ‘रिफ्लेक्टिब स्टीकर’ टाँस गरिएको महाशाखाले जनाएको छ ।
यस अभियानले उद्देश्य अनुरुप दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने अपेक्षा गरिएको महाशाखा प्रमुख भट्टराई बताउँछन्।
उपत्यकामा रहेका विभिन्न ट्राफिक प्रहरी युनिटहरुमा बजेट नचल्ने भएका कारण ट्राफिक प्रहरी अधिकृतहरुलाई सानासाना अभियान सञ्चालन गर्न पनि कठिनाइहरु भने हुने गरेको पाइएको छ।
यस्ता साना र प्रभावकारी र जनहितका कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय सरकार (नगरपालिका) सामाजिक संघसंस्थाहरुले साथ र सहयोग प्रदान गर्ने सके निकै फलदायी हुन सक्ने एक ट्राफिक प्रहरी अधिकारीले बताए।

