विराटनगरमा अपराधका घटनाहरु दैनिक रुपमा बढ्दै, एक सातामा तीन शव फेला


विराटनगर – पछिल्लो समय विराटनगर महानगरपालिका क्षेत्रभित्र अपराधका घटनाहरु दैनिक रुपमा बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । सोही अनुसार विराटनगर क्षेत्रमा एक साताभित्र तीनवटा शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार आइतबार विराटनगर- १६, दरैयामा युवकको शव फेला परेको छ । नेपाल–भारत सीमानजिकै उखुबारीमा मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन बाँकी रहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

यसअघि, विराटनगर- ५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको अवस्थामा मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपानेको शव पनि भेटिएको थियो । सोमबार साँझको त्यो घटनाको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग क्षेत्रमा न्यौपानेलाई कुनै सवारीसाधनले ठक्कर दिएर घाइते बनाई भागेको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार न्यौपाने आफ्नै को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका थिए ।

विराटनगर–११, महेन्द्रचोकनकिजैको स्वस्तिक होटेलबाहिर पनि करिब ४० वर्षीय पुरुषको शव फेला परेको थियो । गएको मंगलबार फेला परेको सो शवको समेत अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’का डीएसपी दीपक कार्कीले बताएका छन् । टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।

 

प्रतिक्रिया