

ज्यान बचाउनकै लागि घरको माथिबाट आमाले फ्याँकिन् छोरी

काठमाडौं – दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो बच्चालाई जलिरहेको घरको माथिबाट तल फ्याँकेकी छिन् । उनको घरमा लुटेराले आगो लगाइदिएपछि उनले छोरीको ज्यान बचाउन यसो गरेकी हुन् ।
नालेडी मान्योनीले आफ्नी छोरीलाई घरको पहिलो तलाबाट छिमेकीको हातमा पर्ने गरी फ्याँकेकी छिन् । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमालाई अघिल्लो हप्ता जेलमा राखेदेखि नै त्यहाँ हिंसा र लुटपाटका घटना मच्चिएका छन् ।
पसललगायत विभिन्न व्यवसायमा हिंसा र लुटपाट र आगजनीका घटनाका कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ ।मानयोनीलगायत अन्य मानिसहरु उक्त भवनमा फसेका थिए । उक्त भवनमा भुइँतलाबाट आगो फैलिएको थियो ।
मानयोनीले आफ्नी छोरीलाई छिमेकीको हातमा फ्याँकिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । ‘म असाध्यै आत्तिएकी थिएँ, साँच्चै नै । तर बाटोमा मानिसहरु थिए,’ उनले बीबीसीलाई भनिन् ।
‘मानिसहरुले चिच्याउँदै भनिरहेका थिए, ‘उसलाई फ्याँक, फ्याँक’ । म त्यतिबेला जति आत्तिरहेकी थिएँ, मैले मेरी छोरी जिम्मा लगाउनका लागि जोसुकैलाई पनि विश्वास गरिरहेकी थिएँ । म भएको ठाउँ बलिरहेको थियो र त्यहाँ जताततै धुँवा थियो ।’
उनकी छोरीलाई केही पनि भएन र उनीहरुको पछि भेट भयो । मायोनीले रोयटर्ससँगको कुराकानीमा भनिन्, ‘छोरीलाई फ्याँकेपछि, मैले बेस्सरी टाउको समातेँ तर उहाँहरुले उसलाई समात्नुभयो ।’ ‘उसलाई सुरक्षित राख्नु नै मेरो एउटै उद्देश्य थियो । मैले उसलाई छोडेर भाग्न पनि सकिनँ ।’ एजेन्सी

