

५० प्रतिशत तलब कटौती गरेरै पनि बार्सिलोनामा बस्ने भए मेसी

काठमाडौं – यो त्यस्ता समाचार हो, जसको प्रतिक्षा विश्वभरका करोडौं फुटबल फ्यानहरूले हप्तौं देखि गरिरहेका थिए। लियोनल मेसीले बार्सिलोनासँग ५ वर्षका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् ।
रोचक कुरा, यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर मेसीले बार्सिलोनामा ५ सय ५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले पाउने अन्य सुविधा भने बढ्ने अनुमान गरिएको छ ।
सम्झौताको सबै खाका तयार भइसकेको छ र त्यसमा हस्ताक्षर हुनमात्रै बाँकी छ । बार्सिलोनाबाट प्रकाशित हुने पत्रिका एल ईस्र्पोटिऊका अनुसार बुधबार मेसी र बार्सिलोना सहमतिमा पुगेका छन् र यसबारे औपचारिक घोषणा चाडैं नै हुनेछ । भर्खरैमात्र कोपा अमेरिका जितेका मेसी दुई सातादेखि फ्रि एजेन्ट छन् ।
नयाँ सिजन सुरु हुन लागेको अवस्थामा बार्सिलोना समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि यो समाचार निकै उत्साहप्रद छ । किनकी, मेसी र क्लबबीचको सम्झौता टुंगिएर नयाँ सम्झौता नहुँदा उनीहरु निकै चिन्तित छन् ।
यो सम्झौताले पूर्णता पाउन केही दिन वा जुलाई महिनाको अन्त्यसम्म पनि लाग्नसक्नेछ । किनकी, मेसीलाई आबद्ध गर्नका लागि क्लबले अझै केही खेलाडीहरुलाई बेच्नु पर्ने छ ।
पछिल्लो समय धेरै खेलाडीहरु पाल्नुपर्दा बार्सिलोनालाई आर्थिक दबाब परेको छ, मेसीलाई समेत आबद्ध गर्दा उसले कुल खेलाडीलाई दिने तलब रकमले ला–लिगाको मापदण्ड पार गर्छ । त्यहीकारण मेसीलाई क्लबमा राख्नका लागि उसले केही खेलाडीलाई बेचेर आफ्नो तलबको भार कम गर्न खोजेको छ ।
गत जुनमा मेसीको र बार्सिलोनाको सम्झौता सकिएलगत्तै पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटीलगायत क्लबहरुले मेसीमा आँखा लगाएका थिए ।

