

कोपा अमेरिका फाइनल: डी मारियाको गोलमा अर्जेन्टिनालाई अग्रता

काठमाडौं – कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ। विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले १–० को अग्रता लिएको हो।
खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।। रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए।
निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको छैन्। १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए। २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिलबाट गोलको खतरा टारेका थिए।
२९ औं मिनेटमा डी मारियानै ब्राजिलका लागि खतरा बने । यसपटक उनको प्रहारलाई थियागो सिल्भाले गोलरक्षकसम्म पुग्न दिएनन्। उक्त रिबाउन्डमा लाउटारोको प्रहारलाई अर्का डिफेन्डर मार्किन्हसले विफल पारेका थिए।
अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गर्दा ब्राजिलले भने कुनै परिवर्तन गरेको छैन।

