करिव चार लाख कित्ता आईपीओ निष्काशन गर्दै सिवाईसी नेपाल लघुवित्त


काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि प्रतिकित्ता एक सय रुपैयाँको दरले ३ लाख ९५ हजार ३५५.९७०४ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन्।

सिवाईसी नेपाल लघुवित्त नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको संस्था हो । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ ।

त्यसपश्चात वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड र जारी पुँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्थासहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भइसकेको छ ।

संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आईरहेको जनाएको छ।

प्रतिक्रिया