

सवारी दुर्घटनामा परि मेची बहुमुखी क्याम्पसका उपप्राध्यापकको मृत्यु

झापा – मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका-८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका उनलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै उहाँलाई न्यूरो अस्पताल विराटनगरमा सिफारिश गरेको थियो । न्यूरोमै उपचारका क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नंको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गर्दा सडकमा रोकी राखेको ना३ख ८५४२ नंकोे ट्रकलाई बुधबार राति ठक्कर दिँदा घाइते भएका थिए । झा सवार मोटरसाइकले सो ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका–१ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिँदा घाइते भएका छन् । उनको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
ट्रकले ठक्कर दिँदा एकको मृत्यु
भरतपुर- नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नवलपुरको गैडाकोटबाट भरतपुरको चौबीसकोठीतर्फ आउँदै गरेको ना५ख ५८१६ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना५९प ३४०४ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर पछाडि सवार भरतपुर महानगरपालिका-१५ मङ्गलपुर निवासी ३० वर्षीय विष्णु दवाडीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्कुटर चालक सोही ठाउँकी जस्मिन न्यौपाने घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

