गरिबीको कोखबाट जन्मेर संघर्षको काखमा हुर्किएका दिनेश पार्कर

पाँचौ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थान


काठमाडौं– अमेरिकामा छन् दिनेश सुनार। संघर्षको मैदानमा यात्रा गर्दा गर्दै त्यहाँ पुगेका हुन्। सपनाहरू अझ बाँकी छन्। सबैभन्दा ठूलो सपना देशको नाम विश्वमा चिनाउने र देशले आफूलाई चिनिदियोस् भन्ने।

उनी गरिबीको कोखबाट जन्मिए र संघर्षको काखमा हुर्किए। आफूले जानेको कलामा अब्बलताको कसी खोज्दै गर्दा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नै रेकर्ड तोड्दै पाँचौ पटक नाम लेखाउन सफल भए।

परदेशमा उनको एउटै परिचय छ– दिनेश सुनार, नेपाली नागरिक। देश नेपाल, भेष गोर्खाली। हरेक रेकर्डमा उनले नेपाली झन्डा र राष्ट्रियताको परिचयलाई स्थापित गरेका छन्। दुखद त यो छ, राज्यले उनलाई चिन्न सकेको छैन, भेट्ने कोशिश त परै जाओस्।

दिनेशको संघर्ष र पारिवारिक पृष्ठभूमी विल्कुलै दुखको भवसागरमा थियो।

पूर्वी पहाडी जिल्ला खोटाङको राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश गाउँमा उफ्रिएको, उल्टिएको देख्दा जीवनको यात्रा कसरी गर्ने होला भन्ने चिन्ता र लयबिहिन थिए। तर दिनेशमा कडा मिहेनत र परिश्रम अनि त्यसको प्रदर्शन गर्ने भोक साधारण थिएन। त्यसैको परिणामको यात्रा सशस्त्र प्रहरीबाट भयो।

सशस्त्र प्रहरीका तत्कालिन प्रमूख सनत बस्नेतले उठाएर हलचोक पुराए, बिर्खबहादुर र रीताको सपनाको पहिलो खुड्कीलो पुरा भयो। अब छोरा कमाउने भयो पाल्न सक्छ भन्ने ठानेका सुनार दम्पत्तीका लागि दिनेश एउटा आशावादी छोराका रूपमा अघि बढ्न थाले।

उनको कला हेर्दा सानो र असामान्य लाग्थ्यो। पहाडका गोरेटो र बगरमा उफ्रिने, उल्टीने दिनेश त्यहि निरन्तरताको परिशिष्ट बोकेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा ५ पटक नाम दर्ता गराउने सफल व्यक्ति हुन्।

सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनिन्थ्यो। जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ। अहिले उनले जागिर छाडेका छन्, सशस्त्र प्रहरीसँगको प्रेम, देशसँगको अगाध माया र चन्द्र सूर्य झन्डालाई विश्व समुदायमा परिचय गराउने भोक उनमा ज्युँदो छ।

‘संघर्षको मैदान छाडेको छैन, दुखका कति सन्नाटाहरु देखियो। आखिर यात्रा जीवन हो र यसैलाई निरन्तरता दिनुपर्छ भनेर लागि परेको छु’, दिनेश भन्छन्।

नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन्। कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन। रबर जस्तो छ ज्यान। जता खुम्चाए पनि खुम्चिने।

सशस्त्र प्रहरीमा जागिरे भएपछि उनमा अझ तिव्र गतिमा यहि खेलमा अघि बढ्ने कुतकुतीले छाडेन। उनलाई सशस्त्रमा पनि धेरैको सहयोग रह्यो, संगठनमा साथ दिनेलाई बिर्सन सक्तैनन्।

हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भूमिका निर्वाह गरिसकेका छन्। उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो भयो।

‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा पहिलो पटक नाम दर्ता गराएका थिए ‘न्युनतम १५ पटकसम्म गर्नुपर्ने गिनिजबुकमा उल्लेख थियो, मैले १८ पटकसम्म गरेको थिएँ’, उनी सम्झन्छन्,‘यति गरे मेरो देशको नामलाई विश्वमा चिनाउने एउटा आधार बन्न सक्छु भन्ने विश्वास पनि छ ।’

पार्कर काम शरिरलाई जोखिममा राखेर गरिने काम हो । दुर्घटना भए जीवन नै खतरामा पर्ने भएपनि उनी डराएनन्। इो यात्रा निरन्तर रह्यो। श्रीमति शर्मिला सुनारले कहिले रोकिनन्। बरू, अघि बढ्ने हौसलामात्र दिइन् जसले दिनेशको यात्राले निरन्तरा पायो।

‘गरिब घरमा जन्मिए पनि संघर्षलाई त्याग गर्न मन लागेन, जीवन पन िएउटा मैदान त हो नि’, विगतलाई कोट्याउँदै अलिक भावुक भएका दिनेश भन्छन्,‘जहाँ पुगेको छु, जे छ यति मात्र होइन यो भन्दा धेरै गर्न सकिन्छ भन्ने ठानेको छु।’

भविष्य भनेको आजको मिहेनतले नै स्पष्ट हुन्छ भन्ने मान्यतामा दिनेशको यात्रा रह्यो जसका कारण सुरुआती चरणमा पार्कर भनी नचिन्ने नेपाली समाज र पुस्तामा परिचित गराउन उनी सफल भए।

‘मान्छेले पार्कर के हो भन्ने बुझ्न थालेका छन्, नेपालमा पनि पार्कर खेलको ठूलो सम्भावना छ। यसको विकासका लागि समय भने लाग्छ’, अब उनको अनुभव यसरी फराकिलो हुन थालेको छ।

तन्दुरुस्ती, अक्कल, सहास र लगाव भयो भने मात्र यसमा सफलता मिल्छ। तर कतिपय अभ्यास र प्रयोगका बेला दुर्घटना नहुने होइन। अभ्यासका क्रममा उनको खुट्टा भाँच्चियो। ‘जे होस् शरिर कमजोर नहोस् भन्ने हुन्थ्यो तर मेरो खुट्टा नै भाँच्चिएपछि केही समय निराश भएँ’, उनी भन्छन्।

तर दिनेशले संघर्षको मैदानमा हार खाएनन्। डाक्टरहरुले अब यस्ता जोखिमपूर्ण खेल नगर्नु भने पनि लक्ष्य र उद्देश्यमा अविचलित दिनेश अस्पताल बसेको १५ दिनपछि नै अभ्यासका लागि जुर्मुराए। उनको साहसका अगाडि शारिरीक जोखिम पनि हार खायो।

उनमा कतिसम्म भोक थियो भने, तीनचार घण्टाको बाटो हिँडेर खोला किनारमा पुग्थे। अनि त्यहाँ बालुवाको थुप्रो बनाएर उफ्रँदै दिन बिताउँथे। बालुवा भएको खोला खोज्दै उनी घन्टौं हिँडेर पुग्थे र अभ्यास जारी राख्थे।

विसं २०६७ सालमा खोटाङकै ज्योति माविबाट एसएलसीमा ६७ प्रतिशत अंक ल्याएर स्कुल टप गरे उनले। सशस्त्र प्रहरीमा आएपछि खेलकुदका इञ्चार्ज रहेका पूर्वडिएसपी प्रेमकुमार श्रेष्ठलाई ‘उपयुक्त विधामा स्थान दिन’ निर्देशन थियो। श्रेष्ठले दिनेशको क्षमतामा अझ उर्बरता थप्न मद्दत गरे।

दिनेशबारे उनै डिएसपी श्रेष्ठ भन्छन्,‘सशस्त्र प्रहरीका लागि दिनेश एउटा सम्पत्तिका रुपमा उदाएको पार्कर खेलाडी हुन्। गाउँबाट भर्खरै आएको र संगठनभित्र पनि खेलकुद विधामा जिम्न्यास्टिकमा कुनै तालिम बिना नै अदभूत क्षमता देखाएको पाएपछि संगठनको क्लवले उनलाई अगाडि बढायो।’

डिएसपी श्रेष्ठले व्यक्तिगत रुपमा पनि दिनेशलाई उसको क्षमता र कलालाई अझ मलिलो बनाउनका लागि जानेका कतिपय सुझाव दिने गरेका थिए। जसले उसको क्षमतालाई अझ प्रोत्साहन होस्। तर, उनको अवकाशसँगै संगठनमा दिनेशको क्षमताको पहिचान र मूल्यमा कमी भएको श्रेष्ठको ठम्याई छ। ‘यस्तो गहनालाई नबुझेको हो की बुझेर पनि केही नगरेको हो भन्नेचाहिँ संगठनमाथि स्वभाविक प्रश्न हुन्छ’, उनी भन्छन्।

जीपी फाउन्डेशन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको संयुक्त सहकार्यमा न्युयोर्कमा सुनारले पाँचौ पटक नाम लेखाउनका लागि पार्कर खेलमा नै प्रयास गरेका थिए ।

भ्रमण बर्षको प्रचार गर्दै गएको जनवरीमा भर्जिनियाँमा सुनारले ‘द मस्ट ब्याकवार्डस समरसल्टस अगेन्स्ट अन ट्रयापोलाइन इन वान आवर इन्डिभिज्युअल’मा ४६० पटक गरी विश्व रेकर्ड कायम गरेका थिए।

२०१८ मा नै वर्ल्ड पार्कर एन्ड फ्रि रनिङ फेडेरशनको निम्तोमा उनी अमेरिकाको फ्लोरिडा, वर्ल्ड च्याम्पियनसीपमा सहभागिताको तयारीका लागि पुगेका थिए । विश्वका विभिन्न मुलुकका अब्बल खेलाडीसामु उनले सुखद प्रदर्शन गरे । ८० जनामा उत्कृष्ट ८ मा परेका थिए।

पाँचौ पटक गिनिज बुकमा नाम लेखाउनका लागि अमेरिकामै उनलाई ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटानी कम्युनिटी एशोसिएशन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष आका खतिवडा, तेक्वान्दो मास्टर हर्क तिरुवा, सनसाइन प्रोप्राइटर तथा मास्टर कौशिला खनाल, श्री कर्माचार्यलगायतको उपस्थिति रहेको थियो। ‘जहाँ भए पनि देशको नाम उँचो राख्नका लागि रेकर्डको प्रयत्न गरेको छु। प्रमाणपत्र आएको दिन मुलुककै नाम गिनिज बुकमा अर्को पटक लेखिनेछ’, दिनेशको आत्मविश्वास छ।

दिनेशलाई अमेरिकाको न्युयोर्क स्टेटका सिनेटर जोन सी लुईले सम्मान गरेका गरेका थिए।

यहि खेलका माध्यमबाट संघर्षका मैदानमा उनी क्यालिबर सुजको ब्रान्ड एम्बेस्डर भए। २०१७ देखि २०२० सम्म तीन बर्ष उनले ब्रान्ड एम्बेस्डरको भूमिका निभाए भने डिआरएन इलेक्ट्रोनिक्सको (२०१९–२०२१, नेपालको पहिलो इनर्जी ड्रिङ्क्स वाउ (२०२०–२०२१) सम्म ब्रान्ड एम्बेस्डर भए। उनले सन् २०१९ मा इन्करेजमेन्ट अवार्ड जिते। जपान र नेपाल बेस्ट पार्कर एथलेटिक वल्र्ड एस्ट्रा अर्डिनरी एबीलिटी ट्यालेन्ट पनि उनले पाए।

प्रतिक्रिया