ढिस्कोले स्काभेटर पुरिंदा चालकको गयो ज्यान


हुम्ला – हुम्लामा सडक खन्ने क्रममा माटोको ढिस्कोले स्काभेटर पुरिँदा चालकको ज्यान गएको छ । हुम्लाको अदानचुली गाउँपालिका-५ को सेरामा सडक खन्ने क्रममा स्काभेटर पुरिँदा बर्दिया घर भएका २६ वर्षीय चालक सन्तोष थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको छ । अहिले शव श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको हो । स्काभेटरका सहचालक भने हाम फालेर बाँचेका छन् । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन लाग्ने डिएसपी शर्माले बताए ।

प्रतिक्रिया