

एक महिनापछि सार्वजनिक किम अचानक दुब्लाएपछि उत्तर कोरियाली नागरिकहरु चिन्तामा

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ उन अचानक दुब्लाएपछि त्यहाँका नागरिकहरु चिन्तामा परेका छन् । पछिल्लो समय सार्वजनिक भएको भिडिओमा किम दुब्लाएको देखिएपछि त्यहाँका नागरिक उनमा स्वास्थ्य समस्या भएको आशंका गर्दै चिन्तामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
३७ वर्षका किम एक महिना सार्वजनिक समारोहमा अनुपस्थित थिए । एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदा उनको शरीरमा अचानक बदलाव देखिएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केआरटीका अनुसार उत्तर कोरियाका नागरिकहरु किमको दुब्लोपनपछि स्वास्थ्य चिन्तामा परेका हुन् ।
केआरटीले किम कसरी दुब्लाए भनेर केही खुलाएको छैन । किम मोटोपनका कारण बिरामी पर्दै आएका थिए । गत वर्ष त किमको हृदयघातका कारण निधन नै भएको हल्ला चलेको थियो । यसबीचमा किमले स्वस्थ रहन वजन घटाएको पनि चर्चा चलिरहेको छ । एजेन्सी

