कबड्डीका मुख्य प्रशिक्षकमा भट्ट नियुक्त


कञ्चनपुर – जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पदमा भट्टलाई नियुक्त गरिएको हो । राखेपले विश्वास गरी दिएको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई इमानन्दारीपूवर्क निर्वाह गर्ने मुख्य प्रशिक्षक भट्टले बताए ।

‘कबड्डी खेलाडी थिएँ । त्यसपछि प्रशिक्षक भएँ । अहिले मुख्य प्रशिक्षक भएको छु’, उनले भने, ‘राखेपले दिएको यो जिम्मेवारीलाई सीप र क्षमताअनुसार इमान्दार भएर पूरा गर्नेछु ।’ मुख्य प्रशिक्षक भट्टले कबड्डी खेलको विकास र विस्तारका लागि विद्यालय तहसम्म प्रतियोगिता सञ्चालन गरिने बताए ।

विद्यार्थी जीवनदेखि कबड्डी खेल्न थालेका भट्टले तीन वटा एशियाली खेलकुद प्रतियोगितामा भाग लिएका छन् । उनले सन् १९९० मा बेइजिङ, सन् १९९४ मा हिरोसिसमा र सन् १९९८ मा बैंककको एशियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए । यसैगरी उनले भारतको कलकत्तामा भएको साफ च्याम्पियन सीप र साग गेममा पाँच पटक भाग लिएका छन् । नेपाली राष्ट्रिय कबड्डी टीमको सात वर्ष नेतृत्व सम्हालेका उनले विसं २०६४ मा कबड्डी खेलबाट सन्न्यास लिएका थिए।

मुख्य प्रशिक्षक भट्टले प्रशिक्षकको जिम्मेवारी पाएपछि हालसम्म दुई हजार ५०० खेलाडीलाई प्रशिक्षण दिइसकेका छन् । त्यसमा २०० भन्दा बढी खेलाडीले राष्ट्रियस्तरका प्रतियोगितासम्म खेलेका छन् ।

भीमदत्त नगरपालिका–७ हल्दुखालका भट्टले जनसेवा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दादेखि नै कबड्डी खेलमा रुचि राख्दै आउनुभएको थियो । विसं २०४३ मा कबड्डी खेलेको दुई वर्षपछि झापामा भएको राष्ट्रिय प्रतियोगितमा सहभागी भएर उनी साग गेमका लागि छनोट भएका थिए । त्यसपछि २०६४ सम्म उनले कबड्डी प्रतियोगितामा सहभागिता जनाएका थिए ।

मुख्य प्रशिक्षक भट्टले कबड्डीको विकासका लागि हल्दुखालमा एकेडेमी सञ्चालन गरेका छन् । उनले कबर्ड हलमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका छन् । जिल्ला खेलकूद विकास समिति कार्यालयका प्रमुख गोपालदत्त भट्ट मुख्य प्रशिक्षक भट्टको लामो अनुभवले कबड्डीको विकास र विस्तारमा सहयोग पुग्ने बताउछन्  ।

विसं २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका भट्ट २५ वर्षपछि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अठार वर्षअघि उनी कबड्डीको सहायक प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रतिक्रिया