

कांग्रेस आसन्न महाधिवेशनमा ‘भारतीय भेरियन्ट’

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको बहस रोचकसँगै पेचिलो बन्दै गएको छ। सभापतिका अनेक आकांक्षी र दाबेदारी छन् भने यी सबै प्रक्रियामा कांग्रेससँग नजिक रहेको भनिएको भारतीय पक्षको पनि प्रभाव गतिलो रहेको बताइन्छ।
भारतीय संस्थापनसँग नजिक रहेका उपसभापति विमलेन्द्र निधिको सभापतिमा उम्मेदवारी घोषणा र त्यसका लागि वातावरण बनाउन विभिन्न समीकरणका नेतासँगको सौहार्द वार्ता संकेतका रुपमा बुझ्न सकिने बताइएको छ। यसकारण पनि सभापतिमा दाबेदारी गरिरहेका बरिष्ठ नेता रामचन्द्र पौडेल अहिले थकित मनस्थितिमा रहेका छन्।
हिन्दूत्वको सवाल उठाइरहेका महामन्त्री शशांक कोइराला, नेतृत्वमा दाबी गरिरहेका प्रकाशनमान सिंह र सभापतिको दाबेदारीलाई प्रमुख मुद्दा बनाएका निधिको निरन्तरको बैठक भारतीय प्रभावको नतिजा बताइन्छ। भारतीय पक्षको नजिक रहेका कोइराला, रामचन्द्र पौडेलको पक्षमा उभिएका सिंह र देउवा क्याम्पका दरिलो खम्बा निधिको यो बहसको मेलोमेसो आफैं मिलेको हो कि प्रायोजित? भन्ने प्रश्नमाथि पनि कांग्रेसीजन घोत्लिन थालेका छन्।
कांग्रेसमा केही हदसम्म प्रभाव छाड्न सक्ने नेता कृष्णप्रसाद सिटौला पनि विस्तारै निधि खेमाको वार्ताका लागि तयार हुनेछन्। उक्त पृष्ठभूमी तयार पार्नका लागि निधि, कोइराला र सिंहले शुक्रबार पनि भेटवार्ता गरेका छन्। ‘पुस्तान्तरणको विषयमा नै कुराकानी भएको हो, देउवाबाहेक सहमतिको अर्को पुस्ताको सभापतिको उम्मेदवार तयार पार्ने विषयमा नै छलफल केन्द्रित हुनेछ’, स्रोतले भन्यो।
यो परामर्श र नयाँ समीकरणमा सिटौलालाई पनि सहभागी गराउन भारतीय अधिकारी सक्रिय रहेको बताइन्छ। ‘यो विस्तारै कांग्रेसभित्रको एउटा महागठबन्धन बन्नेछ। सिटौला, शेखर कोइराला, सुजाता कोइराला, गगन थापासम्मको एउटा गठबन्धन बन्न सक्छ’, स्रोतको दाबी छ।
यसअघि भने निधिले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा रोक्न सकेको खण्डमा मात्र शेरबहादुरलाई सहयोग गर्ने बताउँदै आएका थिए। तर, अब भने फरक समीकरणको अभ्यास सुरु भइसकेको स्रोतको दाबी छ।
देउवाको दाउ
देउवाले सभापतिमा लड्ने भएपछि सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका छन्। आफूनिकट रहेका ति नेताले उनलाई सिटौलालाई कार्यबाहक सभापति दिएको खण्डमा भारतीय समर्थन समेत प्राप्त हुन सक्ने सुझाव दिएका थिए।
तर देउवाले गोपालमान श्रेष्ठ पनि आकांक्षी रहेका कारण कसरी सम्बोधन गर्न सक्लान् भन्ने चासो थियो। श्रेष्ठलाई उपसभापतिमा कायम गर्न सकिने एक प्रकारको धारणा आएको थियो।
उता प्रतिपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभापतिका लागि सहयोग गर्ने आश्वासन देउवालाई दिएको बताइन्छ।
पश्चिमा युरोपेली र अमेरिकीहरू भने कांग्रेसमा देउवालाई नै अगाडि बढाउन चहान्छन् भने भारत उनको विकल्प चहान्छ। अब हुने आम चुनावमा कांग्रेस प्रमुख पार्टी बन्ने र नेपालको राज्यसत्ता पनि उसैको नेतृत्वमा हुने भएपछि पश्चिमा र भारतीय ‘राजनीतिक भेरियन्ट’ अहिलेदेखि नै सक्रिय रहेको बताइन्छ। उच्च स्रोतले भन्यो,‘अबको महाधिवेशनमा कोइराला परिवारलाई कम ब्याक गराउनका निम्ति भारतीय पक्ष सक्रिय छ। यो माहौल प्रतिनिधि सभा विघटनको दोस्रो निर्णय केही अघि मात्र भएको हो, जतिबेला सभापति देउवा प्रधानमन्त्रीको रेशमा दौडिन प्रचण्डलाई सारथी बनाउन तयार भए।’
देउवालाई आगामी सभापतिमा जिताउनका निम्ति पश्चिमालगायतका शक्तिसँगको समन्वयकारी भूमिका गर्नेलगायतका आश्वासन प्रचण्डले दिएका छन् भने प्रधानमन्त्रीका रुपमा चुनाव गराउने र ठू्लो दलको नेताका रुपमा फेरि प्रधानमन्त्री बन्ने अवसर आए सघाउने आश्वासन बुढानिलकण्ठका अनेक बैठकमा भएका थिए।

