थप तीन मन्त्रालयको कार्यभार सम्हाल्दै शिक्षामन्त्री श्रेष्ठ


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालय बाँडफाँट गरेपछि शिक्षामन्त्री रहेका कृष्णगोपाल श्रेष्ठलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिए– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालय।

मन्त्री श्रेष्ठले आज थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन्। स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जेठ र २७ जेठ गरी दुईपटक मन्त्रीपरिषद विस्तार गरेका थिए। मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ।

त्यसपछि मन्त्रिपरिषदका पाँछ सदस्यहरुलाई नै प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रालय बाँडफाँट गरिदिएका थिए। रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् भने अन्य मन्त्रालयको जिम्मेवारी चार मन्त्रीलाई दिएका छन्।

उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया