

युरोकप २०२०ः उत्कृष्ट प्रदर्शनसँगै क्रोएसिया नकआउट चरणमा

काठमाडौं – क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा बुधबार बिहान स्कटल्याण्डलाई ३–१ गोलले हराउँदै क्रोएसिया समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।
क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।
जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

