

राष्ट्र निर्माताको तस्बिरमुनी प्रदेश प्रमुखको स्वागतमा संस्कृतिमन्त्री अरगरिया

काठमाडौं– नेपाली राष्ट्रियता र इतिहासलाई सम्मान गरेका कारणले प्रदेश २ का प्रमुख राजेश झा (अहिराज) चर्चामा थिए। उनले प्रदेश २ को मन्त्रिपरिषदमा पहाडी मूलका व्यक्ति र महिला समावेश नगरेको भनी मुख्यमन्त्री लालबाबु राउतलाई पत्र समेत लेखेका कारण चर्चामा छन्।
उनै प्रमुख अहिराजले जनकपुरस्थित रामजानकी मन्दिरलाई विश्व सम्पदासूचीमा राख्ने प्रक्रिया सुरु गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई कार्यालयमा नै स्वागत गरे। जहाँ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर पृष्ठभूमीमा देखिन्छ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका अरगरियालाई प्रदेश प्रमुख अहिराजले खादा र मैथिली टोपी ‘पाग’ लगाएर स्वागत गरेका थिए। ‘इतिहास र संस्कृतिको मौलिकता र महत्वलाई विर्सने नेपाली हुन सक्तैन। मन्त्रीलाई सोही शैलीमा स्वागत भयो’, अहिराजनिकट स्रोतले भन्यो।
भेटका क्रममा धार्मिक पर्यटन, प्रदेशको विकास, तराई मधेसको धार्मिक पर्यटन गन्तव्य जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नसाथ, सहयोग र पहल गर्ने विषयमा छलफल तथा समझदारी भएको मन्त्री अरगरियाको सचिवालयले जनाएको छ।
प्रदेश प्रमुख अहिराजले मधेसको विकास र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

