४ बजे बालुवाटार!


काठमाडौं– बालुवाटार शक्ति र सत्ताको केन्द्रविन्दु हो। त्यहि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा स्थायी समितिको बैठक बस्दै गर्दा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए।

त्यहिँबाट सुरु भएको नेकपाको पछिल्लो विभाजनसम्मको बहसले शुक्रबार ४ बजे बालुवाटारमै वार कि पारको निर्णय गर्ने तय भएको छ। यसैका लागि सचिवालयको बैठक डाकिएको छ।

दुवै अध्यक्षसँगको परामर्शका आधारमा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले बैठक डाकेका हुन्। कतिपयले यो बैठकले नेकपाको विवाद समाधान गरी केही नयाँ र फरक निर्णय गर्न सक्ने अनुमानित धारणा राखेका छन्।

तर अध्यक्षद्वयका विहीबारसम्मका अभिव्यक्तिले नेकपा विभाजनकै लयमा हिँडेको प्रष्ट भएको छ। ओलीले संखुवासभा पुगेर आफूले कुनै पनि हालतमा पद नछाड्ने दाबी मात्र गरेका थिएनन्, आफू निर्वाचित र पहिलो अध्यक्ष भएको ठोकुवा गरेका थिए।

उता खुमलटारमा विद्यार्थीलगायत आफूनिकट कार्यकर्तामाझ प्रचण्डले ओलीले अपमान मात्र नगरेको, एकीकरणको मर्म र संविधान र परिवर्तन नै उल्ट्याउन लागेको दाबी गरेका थिए। उनले नेकपाको विवादबारे एक कदम अघि खुल्दै भनेका थिए– अब विभाजन हुँदा नेकपा माओवादी र एमाले भएर विभाजित हुँदैन।

यी विवादका पृष्ठभूमी विभिन्न छन् र सबैबारे मन्थनका लागि सचिवालय बैठक डाकिएको छ। ४ बजे बालुवाटारको त्यहि बैठक नियाँलिरहेका छन्, नेकपा कार्यकर्ता, समर्थक र नेकपा विरोधीहरू पनि!

प्रतिक्रिया