गणेश लामालाई पक्राउ गर्नु प्रहरीको ‘नियत’

निषेधाज्ञाकाबीच सत्ताधारीलाई नछुने प्रशासन होटलमा बसेका कांग्रेस काभ्रेका प्रदेश सभा उम्मेदवारलाई किन दुख दियो?


काठमाडौं– बिना कारण होटलमा बसीरहेका कांग्रेसका काभ्रेका प्रदेश सभा उम्मेदवार गणेश लामालाई प्रहरीले ‘नियत’बस पक्राउ गरी हिरासतमा राखेको छ।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेलाई सहयोग गर्न आएको भन्ने प्रहरीको ठम्याई भए पनि लामा यस प्रकरणमा कहिँ कतै पनि जोडिएका छैनन्। प्रहरीले लामालाई पक्राउ गर्नुको कारण निषेधाज्ञामा पोखरा आउनु रहेको बताउनुले नै ‘नियत’ राखेको स्पष्ट भएको छ।

एमालेको आडमा प्रदेश सभाका विभिन्न सदस्यदेखि नेता कार्यकर्तालाई सुरक्षा दिने प्रहरीले लामालाई पक्राउ गर्नु राजनीतिक र प्रशासनिक नियत राखेको कांग्रेसको आरोप रहेको छ।

कांग्रेस काभ्रेका सभापति मधु आचार्यले बिना कारण सत्ताको दुरुपयोग गरी लामाको पक्राउ गरिएको र निशर्त नछाडे आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘ओली सरकारले नियतबस काभ्रे–१ ख का उम्मेदवार बनिसकेका लामालाई पक्राउ गरेको छ, शान्तिपूर्ण अवस्थामा रहेका व्यक्तिलाई यसरी नियत राखेर पक्राउ गर्नु लोकतान्त्रिक मुल्य र मान्यताको धज्जी उडाउनु हो’, आचार्यले भनेका छन्।

लामालाई पक्राउ गर्न गण्डकी प्रदेशका प्रहरी नायव महनिरिक्षक (डिआईजी) घनश्याम अर्याल, जिल्ला प्रहरी कार्यालय कास्कीका उपरिक्षक (एसपी) जीवन श्रेष्ठको ‘नियत’ रहेको बताइएको छ।

नेपाली कांग्रेस कास्कीले आफ्नो पार्टीका नेता गणेश लामालाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै सत्ताको दुरुपयोग गर्नेलाई उचित समयमा दण्डित गरिने चेतावनी दिएको छ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले पोखराको लेकसाइडमा बसेका कांग्रेस नेता लामालाई विना कारण राजनीतिक प्रतिशोध साँधेर प्रहरी र स्थानीय प्रशासनले दुःख दिन पक्राउ गरेकोमा  आक्रोश पोखेका छन् । लामासहित चन्द्र लामा र रमेश खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्की प्रहरीले बिहीबार करीव ४ बजे नेपाली कांग्रेसका युवा नेता लामालाई पोखराको लेकसाइडको होटेलमा बसेकै बेला निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा पक्राउ गरेको थियो। ‘यस्तो पनि कुनै चार्ज हुन्छ? एमालेका सामान्य कार्यकर्तालाई सुरक्षा दिने र सुरक्षित हिसाबले बसेका नेतालाई होटलबाटै नियन्त्रणमा लिन पाइन्छ? कहाँको कानुन हो?’, केसी प्रश्न गर्छन्।

सोधपुछका लागि पक्राउ गरिएको र अहिले छाड्न नसकिने भन्ने एसपी श्रेष्ठको भनाईले नै प्रहरी सत्ता परिचालित नियतबाट प्रेरित भएको स्पष्ट हुन्छ।

बैदाम प्रहरीमा लामालाई राखिएको छ। त्यहाँकी डीएसपी चिनु तामाङले माथिको आदेशका कारण पक्राउ गरिएको बताएकी छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएकै दिन लामामाथि धरपकड गर्नुलाई सत्ता तिलमिलाएको आरोप लगाइएको छ। ‘सरकारले विश्वासको मत नपाउनु र शान्तिपूर्ण हिसाबले बसेका कांग्रेसका नेता लामालाई पक्राउ गर्नुको सम्बन्ध कहिँ छैन। प्रहरी किन यति नियत राखिरहेको छ?’, केसी सोध्छन्।

लामालाई नछाडे आज कांग्रेस कास्कीले निषेधाज्ञा उल्लंघन गरी प्रहरीविरुद्ध प्रदर्शन गर्ने जनाएको छ।

प्रतिक्रिया