माधव नेपालसँगको भेटवार्ता सकिए लगत्तै बुढानीलकण्ठ पुगे प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता माधवकुमार नेपालसँगको छलफल सकेर काँग्रेस सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठ पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै आइतबार राति छलफल गरेका प्रचण्ड र नेपालबिच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो ।  नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरे लगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता नेपालले प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफल गरेको नेताले बताएका छन् ।

नेकपा एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गर्दै माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने जनाएका छन् ।

 

प्रतिक्रिया