विकल्प सोचेर अघि बढ्नु पर्छ, नत्र हामी घर न घाटको हुनेछौं : नेता नेपाल


काठमाडौं – एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले बालुवा पेलेर तेल ननिस्कने बताएका छन् ।

आफूनिकट समानान्तर जिल्ला कमिटी पदाधिकारीको जारी भर्चुअल बैठकमा नेता नेपालले संसद् विघटन गरेको केपी ओली सच्चिएर आउलान् भन्ने आफूलाई विश्वास नलागेकोले चुनौती बुझेर आफू अघि बढेको बताएका हुन् । नेता नेपालले आफू कमजोर हुँदा ओलीले झुल्याउने गरेको बताउँदै भने, ‘मैले त निष्कर्ष निकालिसकेको छु बालुवा पेलेर तेल निस्कनेवाला छैन ।’

बैठकमा सहभागी एक जिल्ला नेताका अनुसार शेरबहादुरलाई प्रधानमन्त्री बनाउन सांसदको हैसियतमा सर्वोच्चमा रिट दायर गरेकाले अहिले पार्टी घोषणा गर्न सक्ने अवस्था नभएको उनले बताएका छन् ।

‘हामीले सांसदको हैसियतमा सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । हामीले अहिले पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुनेछौं’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘सबै विकल्प सोचेर अघि बढ्नु पर्ने हुन्छ । नत्र हामी घर न घाटको हुनेछौं ।’

ढिला भने गर्न नहुने भन्दै सम्बोधनको क्रममा नेपालले भने, ‘माझीहरूको सल्लाहले डुंगा पल्टेजस्तै नहोस् । मरिसकेपछि डाक्टर बोलाउनुको कुनै अर्थ हुन्न ।’

प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर अघि बढ्छन् भने मात्र ओलीसँग औपचारिक वार्तामा वस्न तयार रहेको नेपाल पक्षले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया