

विश्वकप छनोटः ताइपेइविरुद्ध नेपालको सहज जित

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ। अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो।
नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो। उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो ।
खेलको ८० औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे। अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए।
यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ। नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ। नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ। जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन।

