मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी संशोधित अध्यादेश ‘एजेन्डा’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार डाकेको मन्त्रिपरिषदको बैठकमा दल विभाजनसम्बन्धी संशोधित अध्यादेश एजेन्डा बन्न सक्ने अनुमान लगाइएको छ।

उनको पक्षमा उभिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले राजपा ब्युँताउने तयारी गरेका छन्। निर्वाचन आयोगमा अर्का अध्यक्ष उपेन्द्र यादवलाई निकालेको पत्र पठाए पनि त्यसलाई खारेज गर्दै केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर माग भएपछि ओलीले दल बिभाजनसम्बन्धी अध्यादेश ल्याएर सहयोग गर्न सक्ने बताइएको छ।

यसअघ जसपाभित्रको विवाद चर्किरहेका बेला ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटी सहयोग माग गरेका थिए। दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था कायम रहेको छ। त्यसलाई संशोधन गरी संसदीय दलमा मात्रै ४० प्रतिशत या अन्य कुनै संशोधन गरी अध्यादेश ल्याउन सक्ने बताइएको छ।

यद्यपि यस एजेन्डाका विषयमा भने मन्त्रिपरिषदका सदस्यले स्वतन्त्र पुष्टि गर्न सकेका छैनन्। एक मन्त्री भन्छन्,‘एजेन्डाबारे अहिले नै थाहा भइसकेको छैन।’ ओलीले ६ बजेका लागि मन्त्रिपरिषदको बैठक डाकेका छन्।

प्रतिक्रिया