यी हुन् संवैधानिक इजलाशमा ‘लफडा’ सुरु गर्ने वकिलहरू

शम्भु थापाले त प्रधानन्यायाधीश राणालाई विदामा बस्नुस् भनिदिए


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध बहस गरिरहेका प्रतिपक्षी गठबन्धनका तर्फबाट वकिलहरूले संवैधानिक इजलाशमा लफडा सुरु गरेका छन्।

मुद्दालाई प्रभावित बनाउनका लागि उनीहरूले दुई जना न्यायाधीशलाई संवैधानिक इजलाशबाट हटाउन माग राखेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई विदामा बस्न सुझाव दिएका छन्।

राजनीतिक दल र नेतासँग नजिक रहेका बरिष्ठ कानुन व्यावसायीका नाममा चिनिएका शम्भु थापा, गोविन्द बन्दी, टिकाराम भट्टराई, हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णबहादुर भण्डारीलगायतले लफडा गरेको सर्वोच्च स्रोतले जनाएको छ।

उनीहरूले संवैधानिक इजलाशमा रहेका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाउन माग राखेका छन्। उक्त मागमा प्रधानन्यायाधीश राणाले अन्य मुद्दामा आफू पनि बसेको विषयमा सोध्दा वकिल थापाले भने,‘श्रीमान् पनि विदामा बस्न सक्नुहुन्छ।’

सरकारका पक्षबाट वकालत गरिरहेका महान्यायाधीवक्ता रमेश बडालले यसरी इजलाशलाई प्रभावित बनाउने काम भएको र मिडिया ट्रायल गर्न खोजिएको टिप्पणी गरेका थिए।

न्यायाधीश श्रेष्ठ नेकपा एकताको बदर फैसला गरेको तथा केसी अघिल्लो पटक सदन विघटनको मुद्दामा संवैधानिक इजलाशमा बसेको भन्ने विपक्षीका वकिलहरुको जिकीर छ।

महान्यायाधिवक्ता बडालले बरिष्ठ अधिवक्ताहरुले हैसियत बिर्सेको भन्दै कानुन व्यवसायी आचारसंहिता उल्लंघन गरेको जिकिर गरेका छन्।

यहाँ स्वच्छ सुनुवाइको पक्षमा उभिन अपिल गर्दै बडालले मिडिया स्टन्ट चलाउन, दबाब दिन विपक्षी शेरवहादुर देउवादेखि दुर्गा पौडेलसम्मको निर्णय रहेको बताएका थिए।

उनले न्यायाधीशले गरेका फैसलाका आधारमा इजलाशमा बस्न नमिल्ने हो भने संवैधानिक इजलासमा कुनै पनि न्यायाधीश बाँकी नरहने जिकीर गरे।

यसरी न्यायाधीशमाथि प्रश्न उठाउने थापालगायतका वकिल भने विभिन्न प्रकरणमा विवादमा नतानिएका होइनन्। थापा ०६४ सालमा विपक्षी गठबन्धनमा रहेका नेता माधवकुमार नेपालले दिएको टिकटका आधारमा उदयपुरमा एमालेबाट पराजित उम्मेदवार हुन् भने उनी अफताब आलमको पक्षमा लड्ने वकिल हुन्।

यस्तै, तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने सुझाव दिने वकिल तथा सरकारका महान्यायाधीवक्त हुन् रमण श्रेष्ठ। उनी एनसेल प्रकरणलगायतका विवादमा पनि मुछिएका छन्। बन्दी देउवाका नजिकका कानुन व्यावसायी हुन् भने भट्टराई पनि नेपालनिकट कानुन व्यावसायीका रुपमा परिचित छन्।

प्रतिक्रिया