

बिहारमा एनडीएलाई बहुमत, सातौंपटक मुख्यमन्त्री बन्दै नितिशकुमार

काठमाडौं । भारतको बिहारमा भएको विधानसभामा नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड (एनडीए) ले बहुमत प्राप्त गरेको छ । १ सय २२ सिटले बहुमत पुग्ने विधानसभाका लागि एनडीएले १ सय २७ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको हो ।
भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) मा जनता दल युनाइटेडले ४३ सिट र भारतीय जनता पार्टीले ७४ सिट जितेको छ ।
एनडीएका तर्फबाट सातौँ पटक अब नितिश कुमार नै बिहारको मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने राष्ट्रिय जनता दलले ७५ सिटमा जितेको छ ।
बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।
कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको बताइएको छ ।
बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा तीन चरणमा चुनाव भएको थियो ।

