कर्मचारीको तलब २ हजार बढ्यो, प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि


काठमाडौं – सरकारले कर्मचारीको तलब बढाएको छ । शनिवार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् । यससँगै मुख्यसचिवको ६७ हजार एक ३६ पुगेको छ भने खरिदारको २८ हजार ६ सय ४ रुपैयाँ कायम भएको छ ।

यसैगरी निजामती कर्मचारीलाई १० लाख दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमा गरिने भएको छ । स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्ने छ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले जानकारी गराए ।

महंगी भत्तालाई निरन्तरता दिने अर्थमन्त्री पौडेलले बताएका छन् । सरकारले यसअघि २०७६-०७७ कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरुको तलबमानमा राजपत्र अनङ्कित श्रेणीका लागि २० प्रतिशत र राजपत्राङ्कित श्रेणीका लागि १८ प्रतिशतले तलब वृद्धि गरेको थियो ।

गत आर्थिक वर्षमा सरकारले भत्ता नबढाई कर्मचारीका सन्तानको उच्च शिक्षा र तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋणको घोषणा गरेको थियो ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिएका हुन्।

प्रतिक्रिया