आजदेखि काठमाडौंमा सुरु भयो ‘कडा’ निषेधाज्ञा, खाद्यान्न पसल पनि खोल्न नपाइने


काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि अर्को चरणको निषेधाज्ञा सुरु भएको छ । संक्रमितको संख्या नघटे र यसअघिका निषेधाज्ञा तोड्ने क्रम बढेसँगै उपत्यकाका तिनै जिल्ला प्रशासन कार्यालयहरुले यसपटकको निषेधाज्ञालाई पहिलाभन्दा कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिइसकेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले अवस्थाको मूल्यांकन गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

पछिल्लो निर्णय अनुसार अब खाद्यान्नका पसलहरुलाई पूर्णरुपमा खोल्न निषेध छ, तर तरकारी,  माछामासु, दुध लगायतका पसलहरु भने खोल्न पाइने जनाइएको छ ।

यस निषेधाज्ञासँगै विवाह तथा ब्रतबन्ध लगायतका धार्मिक कार्यहरु संलग्न हुन पाउने मानिसको संख्या ७ मा सिमित गरिएको छ । त्यस्तै उक्त कार्यमा प्रयोग १ वटा मात्र गाडी प्रयोग गर्न पाइनेछ ।

त्यस्तै सञ्चारकर्मीका लागि थप कडाई गरिने जिल्ला प्रशासनले जनाएको छ । सूचनाविभागको पास अनिवार्य हुनुपर्नेका साथै यदि सूचना विभागका पास नभएका सञ्चारकर्मीको हकमा भने सञ्चारगृहको सिफारिसमा जिल्ला प्रशासनले सवारी पास उपलब्ध गराउने जनाइएको छ ।

थप भएको निषेधाज्ञाको अवधि जेठ २० गतेसम्म रहनेछ।

प्रतिक्रिया