

चिकित्सकमाथि अस्पतालमै आक्रमण, ज्यान बचाउन ट्वाइलेटमा लुकेकामाथि लखेटि-लखेटी आक्रमण

नेपालगञ्ज — बाँकेस्थित भेरी अञ्चल अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको जनाइएको छ ।
बिहीबार साँझ करिब ८ बजेतिर दाङका ५४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएपपछि उनका आफन्तहरुले डाक्टरमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाले बताए ।
घटनापछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको उनले बताए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटि–लखेटी आक्रमण गरेको थापाको भनाइ छ ।
चिकित्सकमाथि आक्रमण भएसँगै अहिले अस्पतालका वातावरण त्रसित रहेको र आईसीयूमा रहेका बिरामीको समेत उपचार गर्न जान सकेका छैनन् । चारजनाको समूहले आक्रमण गरेको तर अहिलेसम्म प्रहरीले दुईजनामात्र प्रहरी नियन्त्रणमा रहेका छन् ।
थापाले ज्यानको बाजी लगाएर, पानी समेत नखाइ बिरामीको सेवामा निरन्तर खटिँदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा फर्किने वातावरण नभएको बताएका छन् । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।
पछिल्ला दिनमा बिरामीको मृत्यु भएपनि चिकित्सकमाथि हातपात गर्ने परिपाटी नै बसिरहेको छ । यसअघि कोभिडकै बिरामीको मृत्यु भएको भन्दै बिराटनगरस्थित एक अस्पतालमा पनि चिकित्सकमाथि हातपात गरिएको थियो ।

