

चीनको ‘क्वीक रेस्पोन्स’, राष्ट्रपति भण्डारीको फोनपछि १० लाख भ्याक्सिन आउँदै

काठमाडौं — चीनले नेपाललाई अनुदान स्वरुप तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ।
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई फोनमार्फत् खोप उपलब्ध गराउन आग्रह गरेपश्चात् चीनले उक्त घोषणा गरेको हो। राष्ट्रपति भण्डारीले जिनपिङलाई करिब पौने घन्टा फोन गरेकी थिइन् । चिनियाँ राष्ट्रपतिसँगको फोनवार्तापछि कोरोना भ्याक्सिन उपलब्ध गराउने निर्णय भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले जनाएकी छिन् ।
During today’s phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021
स्रोतका अनुसार चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने बताएको छ।
चीनले नेपाललाई अहिलेसम्म कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने अहिले नेपालमा उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ।
यसैबीच, राष्ट्रपति भण्डारीले मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र पठाएर खोपको खरिदमा पहल गरिदिन आग्रह गरेकी थिइन्। तर भारतबाट भने अहिले सम्म पत्रको बारेमा केही जानकारी आइसकेको छैन। भारतले पनि नेपाललाई पहिलो चरणमा केही खोपहरु भने उपलब्ध गराएको थियो।

