

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको उपचारको क्रममा मृत्यु

बुटवल – कपिलवस्तुमा पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।
जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीका अनुसार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा उनको सोमबार साँझ निधन भएको हो ।
अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको डिएसपी भण्डारीले जानकारी दिए ।
पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो ।
प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं। १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।
पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् ।

