भारतीयहरुले गरे नेपालमा आएर तोडफोड, प्रहरीको पोशाक समेत च्यातिदिए
काठमाडौं– नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन्। महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित २ नम्बर बोर्डरमा रहेको ढाटमा भारतीयहरुले तोडफोड गरेका थिए।
२ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले मदिरा खाएर एक्कासि तोडफोड गरी हटाएपछि दोहोरो भिडन्त भएको सशस्त्र प्रहरीले जनाएको छ।
बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमले गएराति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेको बताए।
करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक (चुस्ता) समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन्।
उनीहरुले आफूहरु महिनाबारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन्।
भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएका छन्।
गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेको भारतीय व्यापारीको भनाइ छ।