फ्रेन्च लिग वानको उपाधि लिलले जित्यो


काठमाडौं – लिलले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ। गएराति भएको लिगको अन्तिम खेलमा एन्जर्सलाई २–१ ले हराउँदै लिल च्याम्पियन बनेको हो।

लिलले खेलको १०औं मिनेटमा जोनाथन डेविडको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गर्दै लिलको अग्रता दोब्बर पारे।

लिलले सन् २०११ पछि पहिलोपटक उपाधि जितेको हो। खेलको इन्ज्युरी समयमा एन्जेलो फुगीलिनीले गोल गर्दै एन्जर्सलाई खेलमा फर्काउने सम्भावना देखाएका थिए । तर लिलले आफ्नो अग्रता कायमै राख्दै चौथो पटक लिग जित्‍न सफल रह्यो।

उता पिएसजीले पनि आफ्नो खेलमा ब्रेस्टमाथि २–० को जीत हासिल गरेको थियो जसका बाबजुद पनि उपाधिबाट वञ्‍चित बन्यो। पिएसजी लिलभन्दा १ अंक मात्र पछाडि रह्‍यो।

लिलले ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सीमित भयो। लिलले २४ जित र ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार व्यहोरेको थियो भने पिएसजीले २६ खेलमा जित हात पार्दा ४ बराबरी खेल्दै ८ खेलमा पराजय भोगेको थियो।

प्रतिक्रिया