बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने


ढाका – बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ ।

बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो । बङ्गलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत यो निर्णय सार्वजनिक गरेको हो ।

पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड– १९ विरूद्धको अभियानमा बङ्गलादेशले अप्रिल १४ देखि २१ सम्म आठ दिन कडा लकडाउनको घोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो । यस मुलुकमा आगामी दिनमा होटल र रेष्टुरेन्टहरु पनि प्रतिबन्धको दायरा बाहिर राखिएको छ ।

हालका दिनहरूमा कोभिड–१९ सङ्क्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धलाई सहज बनाइएको हो ।शनिबार, यहाँको स्वास्थ्य सेवा महानिर्देशनालय गत २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार २८ रहेको छ भने ३८ सङ्क्रमितको मृत्यु भएको छ ।

यससँगै बङ्गलादेशमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८७ हजार ७२६ पुगेको छ भने १२ हजार ३४८ सङ्क्रमितको मृत्यु भएको छ । आधिकारिक तथ्याङ्कका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको सङ्ख्या ९२.६५ प्रतिशत छ ।

प्रतिक्रिया