

संसद विघटनविरुद्ध प्रचण्ड भन्छन्- अदालतले संसद्को पक्षमा फैसला गर्नेछ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताएका छन् ।
उनले आफूहरु संसद विघटनविरुद्ध अदालत जाने र अदालत पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दावी गरे । विपक्षी गठवन्धनको वैठकपछि प्रचण्डले पत्रकारसँग भने,‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं ।’
उनले बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर सरकार बन्न सक्ने सम्भावना जिवित रहेको प्रमाणित हुँदा हुँदै मध्यरातिमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको भन्दै कानुनी रुपमा प्रमाणित गर्ने पनि बताए ।
अदालतले पहिलेजस्तै फेरि एकपटक लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त गरेको पनि उनले बताए । ‘पहिलो एपिसोडमै लाखौं जनताले सडकमा आएर प्रतिगमनको विरुद्धमा छौं भनेर देखाइसकेका छन् । अहिले कोरोनाको यो महामारीका बेला कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई जसरी दुर्घटनातिर लगेका छन्, त्यसलाई जनताले सहने छैनन् । यसको स्थानीय तहदेखि नै प्रतिवादमा जनता उत्रिने छन्,’ दाहालले भने ।

