

तिब्बतले दिएको १५० सिलिण्डर लिक्विड अक्सिजन राजधानी ल्याइँदै

तातोपानी — चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी भन्सार कार्यालय आएको छ।
ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको थियो। लिक्विड अक्सिजनका १५० सिलिण्डर भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए।
सामानको तौल ३० मेट्रिक टन रहेको छ। लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ।
लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाएको छ। ती सामग्री आउने क्रममा रहेको गौतमले जानकारी दिए।
‘हामीले लिक्विड अक्सिजन बुझ्यौं, स्वास्थ्य सेवा विभागलाई बुझाउँछौं, त्यहाँबाट प्रतिनिधि आउनुभएको छ,’ गौतमले भने। ती लिक्विड अक्सिजन दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं लैजाने गौतमले बताए।
‘उताबाट आउँदा पनि दमकलले स्कर्टिङ गरेको थियो,’ गौतमले भने, ‘अक्सिजन लिक्विड संवेदनशील चिज भएकाले दमकलसहितको व्यवस्था गर्नुपर्ने भएको हो।’

